इनरुवा । पछिल्लो समय सुनसरीका किसान परम्परागत खेती छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् ।
सुनसरीको दक्षिणवर्ती गाउँपालिकाका किसान व्यसायिक आलु खेतीतर्फ आकर्षित बन्न थालेको हो ।
सुनसरीका कृषकहरुले लामो समयदेखी गर्दै आएको गहुँ तथा धान खेती छोडेर व्यवसायिक आलु गर्न थालेको इनरुवा ९ बवियाका किसान सत्यनारायण यादवले बताए । परम्परागत खेतीबाट दैनिक छाक टार्न समेत समस्या पर्ने यस क्षेत्रका कृषकहरुले अहिले आलु खेतीबाट निकै आम्दानी गर्दै आएको यादबले बताए ।
कोरोना भाइरसको संक्रमित दिनदिनै बढेपनि जिल्लाका दक्षिणवर्ती क्षेत्रका किसानहरुले पाँचौ बालीको रुपमा आलु खेती लगाउन चटारो लागेको छ । तर, किसानहरु उन्नत जातको विउ खोज्न इनरुवा , देवानगञ्ज लगायतका बजार भौतारिहेका छन ।
दक्षिणवर्ती क्षेत्रका पालिकाहरुको प्रमुख वाली, धान, मकै, गहुँ , जुट पछि पाँचौं बाली आलु लगाउन चटारोमा रहेको किसानलाई राम्रो वा उन्नतजातको बिउका लागि सास्ती भोग्नु परिरहेको भोक्राहा नरसिंहका आलु किसान बिरेन्द्र यादवले बताए । यादवका अनुसार बजारमा आलु प्रति क्वीन्टल ५ हजार रुपैयाँ देखी ६ हजार रुपैयाँ सम्म बिक्री हुने गरेको बताए ।
सुनसरीमा व्यवसायिक तथा निजी रुपमा गरिने आलु खेतीका लागि आवश्यक आलु बिउमा पनि व्यापारीको सिन्डिकेटले किसानहरु मारमा परेका छन् ।
सरकारले आलु खेतीको लागि आलु बिउको उचित व्यवस्थापन नगरेको कारण कमसल तथा प्राविधिक चेकजाँच बिनाको आलुको विउ बिक्री भइरहेको उनको कथन छ ।
उनले भने, आलु बिउको मूल्य र तौलमा पनि व्यापारीको मनोमानी छ । पसल पिच्छे मूल्य फरक र तौलमा प्रति ५० किलोग्रामको बोरामा एक किलो ग्राम कम वजन रहने गरेको बताए ।
बजारमा ५० किलो तौलको बोराको मूल्य २५ सय रुपैँया देखि २८ सय रुपैँया सम्ममा बिक्री भइरहेको छ । पुरै ५० किलोको मूल्य तिर्छौ, तर वजन ४९ किलो मात्र हुन्छ । प्रमुख बालीमध्येको एक आलु खेतीको लागि किसानले खेत तयार गरिसकेका छन । तर, उन्नत जातको बिउ किन्न दैनिक बजारहरु धाउँदा पनि राम्रो बिउ पाउन नसकेको किसानहरुले गुनासो गरे ।
यता भोक्राहा नरसिंह गाउँपालिका–७ का सकलदेव मेहताले दुई बिघा जग्गामा तरकारी खेती गरेका छन् । उनी त्यस क्षेत्रका लागि उदाहरणका पात्र मात्र छन् । उनी जस्तै त्यस क्षेत्रका सयौँ कृषकले तरकारी खेती गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन । धान, मकै, गहुँलगायतका अन्य बालीबाट राम्रो आम्दानी हुन छोडेपछि अहिले त्यस क्षेत्रका कृषक आलु र काउलीखेतीलाई मुख्य पेशाको रुपमा लिएका छन् । आफूले काउली खेतीबाट मात्रै वार्षिकरुपमा रु ५ लाख आम्दानी गर्ने गरेको र भएको आम्दानीबाट घरपरिवार समेत चलाउन सफल भएको उनले जानकारी दिए ।
उनका अनुसार तरकारी खेतीबाट सोचेको जस्तो आम्दानी भए पनि समस्या पनि उत्तिकै रहेको बताए । कृषकलाई समयमा जनमजदुर नपाउनु, समयमा सिँचाइ उपलब्ध नहुनु, समयमा खाद्य मलको सुविधा नहुनु, उत्पादन भएको तरकारीको बजार नपाउनु, लगानीअनुसारको तरकारीको मूल्य नपाउनुलगायतको समस्या रहेको बताए ।
सुनसरीमा अहिले वार्षिक रुपमा रु एक अर्बभन्दा बढीको तरकारीको कारोवार हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी विकास अधिकृत तृपितनारायण मिश्रले बताए । जिल्लामा वार्षिकरुपमा तीन हजार ४१५ हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको छ । तरकारी खेतीका लागि विभिन्न समस्याको सामना गर्दै आएको कृषकलाई समस्याबाट मुक्त गराउन र तरकारीखेतीतर्फ अझ आकर्षित गर्नका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान केन्द्रित हुन आवश्यक छ ।

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्