इनरुवा । सुनसरी सदरमुकाम इनरुवा लगायत आसपासका गाउँपालिकाहरुमा घरेलु मदिराको उत्पादन र बिक्री ह्वात्तै बढेको छ । चामल लगायत अन्यबस्तुबाट उत्पादन हुने घरेलु मदिराको उत्पादन र बिक्रि वितरण सुनसरीमा पछिल्लो समय बढेको पाइएको हो ।

सुनसरी सदरमुकाम इनरुवा सहित ग्रामिण बस्तिमा पछिल्लो समय घरेलु मदिराको माग उच्च रहेको छ । सामान्य होटलमा पनि बिहान देखी बेलुका सम्म अत्यधिक रुपमा घरेलु मदिरा बिक्रि हुने गरेको छ ।

शहरी क्षेत्र सहित ग्रामिण भेगमा सस्तो मदिरा धेरै बिक्ने हुदा सस्तोको नाममा घरेलु मदिरातर्फ ग्राहकहरु आर्कषीत बन्न थालेको पारखीहरु बताउँछन् ।

अवैध मानिएको घरेलु मदिराको सेवनका कारण धेरेको ज्यान गएको समाचारहरु आइरहँदा पनि सुनसरीमा प्रहरी प्रशासनले अबैध घरेलुमदिराको ब्यापक रुपमा निगरानी गर्न सकेको छैन ।

अवैध मदिरा प्रति निगरानी मात्र होइन उत्पादनलाई पनि कडाइ गर्नुपर्ने स्थानीयबासीको माग रहेको छ । चाडपर्व नजिकीदै गर्दा घरेलु मदिराको ब्यापार ह्वातै बढेको देखिन्छ । अहिले घरेलु मदिराको उत्पादन र बिक्रि वितरण बढेको कारण चाडपर्वको समयमा बिकृती ल्याउन सक्ने भएकोले प्रहरीले यस्तो बिषयमा निगरानी र नियन्त्रण तर्फ लाग्नुपर्ने मानव अधिकारकर्मी रमेश भटट्राई बताउनुहुन्छ । अनुमति बिना उत्पादन गरिने अवैध घरेलु मदिरा कडाईका साथ नियन्त्रण नगरिए झन् समस्या बढ्ने उनको भनाई छ ।

सरकार र स्थानीय प्रशासनकै लापरबाहीका कारण शैक्षिक संस्था, सार्वजनिक क्षेत्रमा खुल्ला रुपमा मदिरा बिक्रि बितरण भइरहेको नेपाली काँग्रेस इनरुवा नगर समितिका सचिव धिरज भटट्राई बताउँछन् ।

सुनसरीमा घरेलु मदिराको उत्पादन र नियमनमा स्थानीय प्रशासन र सरकारको कमीकमजोरी रहेको उनको तर्क छ । उनले शैक्षिक संस्था, मठमन्दिर सहित धार्मिक स्थल, सार्वजनिक निकाय र स्थलको निश्चित सिमाभित्र मदिराजन्य पदार्थ बेचबिखन गर्न नपाइने कानूनी व्यवस्था रहे पनि सुनसरीमा कार्यान्वयन हुन नसकेको गुनासो बताए ।

कानून अनुसार शैक्षिक संस्था, धार्मिक स्थल, सरकारी कार्यालय, सार्वजनिक निकाय तथा स्थलको पाँच सय मिटर वरपर मदिरा बिक्री वितरण गर्न पाइदैन । तर, जिल्ला प्रहरी कार्यालय सुनसरीको गेटै अगाडी सदरमुकाम इनरुवा स्थित रहेको दुर्गा मन्दिर, शनि मन्दिर र भगवती माध्यमिक विद्यालय वरपर खुलेआम रुपमा घरेलु मदिराको उत्पादन तथा बिक्रि वितरण भैरहेको पाईन्छ । उनले भने – यो कानुन विपरित कार्य हो । इनरुवामा मात्रै होइन यस्तो समस्या जिल्लाको सबै शहरमा रहेको उनले बताए । स्थानीय प्रशासनले मदिरा बिक्रि वितरणमा नियमन गर्नेतर्फ चासो नदिएको कारण यस्तो समस्या देखिएको भटट्राईले बताए । उनले तिनै तहका सरकार र स्थानीय प्रशासनले अझै पनि मदिरा बिक्रि र बितरणमा कडाइ गर्न नसकेको कारण लापरबाहीका कारण शैक्षिक संस्था, सार्वजनिक क्षेत्रमा खुल्ला रुपमा मदिरा बिक्रि बितरण भइरहेको बताए ।

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्